पर्यटनलाई विकेन्द्रीकरण गर्नुपर्छ: व्यवसायी भट्टराई

0

विराटनगरलाई आधार क्षेत्र बनाएर पुण्य भट्टराईले पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् । डेढ दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न भट्टराईको २५ करोड रुपैयाँ लगानी रहेको होटल एसियाटिक एक वर्षअघिदेखि सञ्चालनमा आएको छ ।

जहाँ ४० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । शान्ति जल उद्योग, पाथिभरा कृषि फर्म, दाम्राभिट्टा बोर्डिङलगायतमा पनि १० करोडभन्दा बढी लगानी गरेका छन्, जसमा ८० जनाले रोजगारी पाएका छन् ।

चाँडै नै भेडेटार एसियाटिक प्रालि सञ्चालन गर्ने तयारी गरेका छन् । १८ करोड रुपैयाँको लगानी रहने होटल भेडेटार एसियाटिकमा ५० वटा सुविधा सम्पन्न कोठा हुने उनी बताउँछन् । पूर्वमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि राज्यले बेवास्ता गरेको व्यवसायी भट्टराईको कथन छ ।

लामो समयदेखि विराटनगर भन्सार नाकामा अध्यागमन कार्यालय स्थापना गर्न यो क्षेत्रका उद्योगी–व्यवसायीले राखेको माग राज्यले नसुनेको उनी गुनासो गर्छन् । राजधानी, पोखरा, चितवन र लुम्बिनीको पर्यटन विकासमा मात्रै राज्यले चासो दिने गरेको भट्टराईले बताए ।

राज्यले भौतिक पूर्वाधार निर्माण गरिदिने र प्रचारप्रसार गरे अन्य क्षेत्रको पर्यटन विकासले पनि गति लिने भट्टराईको भनाई छ । पर्यटन क्षेत्रलाई पनि विकेन्द्रीकरण गर्नुपर्ने बताउने भट्टराईसँग पूर्वको पर्यटनको अवस्था, भावी योजना, पर्यटनमा देखिएका समस्यालगायतका विषयमा केन्द्रित रहेर मीनकुमार नवोदितले गरेको कुराकानी :पूर्वको पर्यटन क्षेत्र कसरी अगाडि बढिरहेको छ ?
पूर्वमा पर्यटनको प्रचुर सम्भावना छ । यहाँ धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको सम्भावना धेरै छ । पाथीभारा, हलेसी, छिन्नमस्ता, बराहक्षेत्र, बूढासुब्बा, अर्जुनधारालगायतका महत्वपूण धार्मिकस्थल पूर्वमै पर्छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो हिमाल कञ्चनजंघा पनि यहीँ पर्छ । विराटनगरबाट डेढ घण्टाको समयमा पुग्न सकिने भेडेटार, कन्याम, हिले, जेफाले, वसन्तपुर, तीनजुरे, मिल्केजस्ता प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीयस्थल पनि पूर्वमै छन् ।

जहाँ दैनिक सयौं आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् । यस हिसाबले पूर्वमा पर्यटनको सम्भावना अधिक छ । मात्रै प्रचारप्रसारको कमी छ ।

पर्यटन क्षेत्रमा लगानी कत्तिको आइरहेको छ ?
पछिल्लो समय अन्य पेसा र व्यवसाय छाडेर पर्यटनमा आउने क्रम बढेको छ । यो क्षेत्रमा ठूला–ठूला होटल र रिसोर्ट खुलिरहेका छन् ।

विराटनगरमै मात्रै तीन वर्षयता एक दर्जनभन्दा बढी पर्यटकीय स्तरका ठूला होटल सञ्चालनमा आइसकेका छन् । इटहरी, भेडेटार, धनकुटा, हिले, हलेसी, इलाम, कन्याम, बिर्तामोडलगायतका स्थानमा पनि पर्यटनमा लगानी गर्ने व्यवसायी थपिएका छन् ।

विराटनगरमै पनि उत्पादनमूलक क्षेत्रका उद्योगी–व्यवसायी पर्यटनमा लागेका छन् । उद्योगी मोती दुगडले एक वर्षअघि चारतारे होटल ह्यारिसन सञ्चालनमा ल्याइसक्नुभएको छ । त्यस्तै अर्को पाँचतारे होटलको निर्माण धमाधम गरिरहनुभएको छ ।

यसरी उद्योगी–व्यवसायीहरू नै यो क्षेत्रमा आउनु खुसीको कुरा हो । व्यवसायीहरूले प्याकेज बनाएर पाथीभारा, हलेसीका साथै पोखरा, काठमाडौं, लुम्बिनी, मनकामनालगायतका स्थानमा पर्यटकहरूलाई पठाउने गरेका छन् । पर्यटन क्षेत्रमा हरेक दिन लगानी थपिने क्रम बढ्दै गइरहेको छ ।

यो क्षेत्रमा खासगरी कुन–कुन देशका पर्यटक आउने गर्छन् ?
खासगरी विराटनगरलाई बेस बनाएर घुम्न आउने तेस्रो मुलुकका पर्यटकको संख्या एकदमै नगन्य छ । तेस्रो मुलुकबाट यो क्षेत्रमा पर्यटक आउँदैनन् भन्दा पनि हुन्छ । पूर्वमा भारतीय पर्यटकहरू बढी मात्रामा आउने गरेका छन् ।

भारतको बिहार, पश्चिम बंगाललगायतबाट धेरै पर्यटक आउने गर्छन् । १४ करोड जनसंख्या भएको भारतको बिहार राज्यसँगै जोडिएको छ पूर्व । त्यहाँका २ प्रतिशत मात्रै पर्यटकलाई हरेक वर्ष भिœयाउन सके यो क्षेत्रको आर्थिक विकासले फड्को मार्ने थियो ।

भूकम्प, तराई–मधेस बन्द, नाकाबन्दीका कारण भारतीय पर्यटक पनि लामो समयसम्म आएनन् । जसका कारण यो क्षेत्रको पर्यटन व्यवसाय धराशायी भएको थियो । भारतीय पर्यटकका कारण टिकेको यो क्षेत्रको पर्यटन व्यवसायलाई बचाउन निकै गाह्रो पर्याे ।

व्यवसायीहरूले कर्मचारी, बिजुली, पानीलगायतका दैनिक खर्च पनि बैंकबाट ऋण लिएर गर्नुपरेको थियो । पछिल्लो सात–आठ महिनायता भने भारतीय आउने क्रम सुरु भएको छ । हाल भूकम्पभन्दा अगाडिकै अवस्था भारतीय पर्यटकको आवागमन भइरहेको छ ।

विराटनगरमा त स्वास्थ्य पर्यटक पनि आउने गरेका छन् । विराटनगर आँखा अस्पतालमा आउने अधिकांश बिरामी भारतीय नै हुने गरेका छन् । यसबाट पनि यहाँको आर्थिक गतिविधि बढ्ने गरेको छ ।

राज्यले पूर्वको पर्यटन विकासमा बेवास्ता गरेको छ भन्दै हुनुहुन्छ । के–के गरिदियो भने यो क्षेत्रको पर्यटन विकासले गति लिन्छ ?
यो क्षेत्रको पर्यटन विकासका लागि राज्यले धेरै गर्नै पर्दैन । राज्यले भौतिक पूर्वाधारको विकास गरिदिनुपर्छ । विराटनगर भन्सार नाकामा अध्यागमन कार्यालय स्थापना गरिए तेस्रो मुलुकबाट आउने पर्यटकलाई सहज हुने थियो ।

अध्यागमन कार्यालय नहुँदा यो नाकाबाट तेस्रो मुलुकका पर्यटक आउन पाउँदैनन् । हरेक वर्ष भारतको गयामा लाखौं बौद्र्ध धर्मावलम्बी आउने गर्छन् । यदि विराटनगरमा अध्यागमन कार्यालय स्थापना गर्ने हो भने ती बौद्ध धर्मावलम्बी यो नाका हुँदै लुम्बिनी घुम्न आउने थिए ।

विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउन हामीले पटक–पटक माग गर्दै आएका छौं । विमानस्थलको स्तरोन्नति गरी सबै घरेलु उडान यहाँबाट सञ्चालन गर्ने हो भने काठमाडौंको ट्राफिक जामसमेत हट्ने थियो ।

अर्कातर्फ राजधानीकेन्द्रित पर्यटन विकेन्द्रीकरण हुने थियो । अझ विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग हो । विराट एक्स्पोका अवसरमा माउन्टेन फ्लाइट त सुरु भयो, तर यसलाई निरन्तरता दिन राज्यले सहयोग गर्नुपर्छ ।

विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्दा भारतीय पर्यटकको आकर्षण बढ्ने थियो । यो क्षेत्रमा भएका धार्मिक, सांस्कृतिक, प्राकृतिक धार्मिक स्थलहरूको प्रचारप्रसार गरिदिनुपर्छ सरकारले ।

अध्यागमन कार्यालय स्थापना, क्षेत्रीय विमानस्थल निर्माण र माउन्टेन फ्लाइटका लागि पहल गर्नुभएको छैन ?
यो क्षेत्रका पर्यटन व्यवसायी मात्रै होइन, उद्योगी व्यवसायीहरूले हरेक वर्षको बजेट सार्वजनिक गर्नुभन्दा अगाडि सरकारलाई यी माग राख्ने गरेका छन् । अध्यागमन कार्यालय स्थापनाको माग गरेको त डेढ दशकभन्दा बढी भइसकेको छ ।

तर, खै के कारणले हो सरकारले विराटनगरमा अध्यागमन कार्यालय स्थापना गर्न चाहिरहेको छैन । क्षेत्रीय विमानस्थल निर्माण गर्न पनि माग गर्ने गरेका छौं । उद्योग संगठन र मोरङ व्यापार संघले हरेक वर्षको अर्थमन्त्रीको उपस्थितिमा हुने पूर्वबजेट छलफलमा यी मुद्दा र मागलाई जोडतोडका साथ राख्ने गरेको छ । जति नै माग गरे पनि सुनिदिनेले नसुनिदिएपछि कसको के लाग्छ र ?

हालै उद्योग संगठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) मा हेलिसिटी टुरको संयोजन गर्नुभएको थियो, कस्तो भयो हेलिसिटी टुर ?

सुरुका दिनमा एक्स्पोमा हेलिकप्टर ल्याउने कि नल्याउने भन्ने दुविधामा थियौं । निकै चुनौती थियो । काठमाडौंबाट हेलिकप्टर आउँदा र जाँदा नै ठूलो रकम तिर्नुपर्ने थियो । तर, चुनौतीका बीच एक्स्पोमा हेलिसिटी टुर सञ्चालन गर्ने निर्णय गर्याै‌ हामीले ।

त्यसको सम्पूर्ण जिम्मेवारी होटल एसियाटिक प्रालिले लियो । एक्स्पोमा हेलिसिटी टुर अत्यन्तै उत्साहजनक रूपमा सम्पन्न भयो । सुरुमा दुई दिनका लागि भनेर माउन्टेन एयरसित सम्झौता गरेका थियौं । पछि दर्शकको आकर्षण बढेपछि एक दिन थप्यौं ।

विराट एक्स्पोमा ३५ वटा उडान भयो, जसमा ७ हजार ५ सय रुपैयाँमा विराटनगरसहित आसपासका क्षेत्रको दृश्यावलोकन गर्ने व्यवस्था मिलाएका थियौं । माउन्टेन एयर कम्पनीका अनुसार भन्ने हो भने हेलिसिटी टुर राजधानीबाहिर पहिलो पटक सफल भएको हो ।

यसअघि सिन्धुली र गोरखामा पनि हेलिकप्टर सञ्चालन गरिएको थियो । तर, त्यहाँ एक–दुई फ्लाइट मात्रै भयो भन्ने सुन्नमा आएको छ । यस अर्थमा विराट एक्स्पोमा हेलिसिटी टुर भव्य रूपमा सफल भएको छ । यसबाट आगामी दिनमा यस्ता कार्यक्रम गर्न थप हौसला मिलेको छ । हेलिसिटी टुरका कारणले पनि विराट एक्स्पो भव्य भयो भन्ने मलाई लाग्छ ।

मोरङको विराट चोकमा हुने कोसीहरैंचा एक्स्पोमा पनि हेलिसिटी टुर सञ्चालन गर्ने भन्ने समाचार सार्वजनिक भएको थियो, त्यहाँबाट कहाँ–कहाँका लागि उडान गर्ने कार्यक्रम छ ?
विराट एक्स्पोमा हेलिसिटी टुर सफल भएपछि कोसीहरैंचा एक्स्पोमा पनि हेलिकप्टर सञ्चालन गर्न उत्साहित भएका छौं । फागुन २१ देखि २७ गतेसम्म हुने एक्स्पोमा हेलिसिटी टुर सञ्चालन गरिनेछ ।

हालसम्म ४५ वटा फ्लाइट बुक भइसकेका छन्, जसमा १५ वटा इटहरीस्थित पर्यटकीय स्थल गोकुलम रिसोर्टबाट सञ्चालन हुनेछ । विराट चोकबाट हुने हेलिसिटी टुरबाट भेडेटार, जेफाले, धरान, लेटाङलगायतको दृश्यावलोकन गराइनेछ ।

त्यसबाहेक दैनिक बिहान ताप्लेजुङको पाथिभाराको फ्लाइट हुनेछ । दर्शनार्थीलाई लिएर जाने र पूजा–आराधना गरिसकेपछि करिब ३ घण्टामा पुनः विराट चोक आउनेछ, जसका लागि तीन दिनका लागि पाथीभराको फ्लाइट बुक भइसकेको छ ।

खोटाङको हलेसी दर्शन गर्न जानेहरूले पनि चासो राखिरहनुभएको छ । हवाईजहाज त धेरै मानिस चढिसकेका हुन्छन्, तर कतिपय मानिसले चाहेर पनि हेलिकप्टर चढ्न नपाएका हुन्छन् । मात्र साढे ७ हजारमा १० देखि १५ मिनेटको हेलिकप्टर यात्रा गर्न पाउनेछन् ।

भविष्यमा पनि हेलिकप्टरबाट पाथिभरा र हलेसीको यात्रा गराउने योजना के छ ?
सुरुमा हामीलाई खासै अनुभव थिएन । अब अनुभव भयो । कसरी गर्दा हुँदो रहेछ ? कति खर्च लाग्दो रहेछ भन्ने पनि अब मोटामोटी थाहा भएको छ ।

विराटनगर विमानस्थललाई बेस बनाएर अब पूर्वका धार्मिक पर्यटकीय स्थलहरूको हेलिकप्टरबाट यात्रा गराउने योजना छ । ताप्लेजुङको सुकेटार विमानस्थलसम्म बाइरोड जाने र त्यहाँबाट पाथिभरासम्म हेलिकप्टरबाट लाने तथा ल्याउने गरी प्याकेज पनि बनाउँदैछौं ।

राजनीतिक अस्थिरताले पर्यटन व्यवसायमा कस्तो असर पारेको छ ?
लामो समयदेखि मुलुकमा राजनीतिक अस्थिरता हुँदा सबैभन्दा बढी पर्यटन क्षेत्र मारमा परेको छ । १० वर्षे सशस्त्र द्वन्द्वमा मात्रै होइन, त्यसयता पनि पर्यटन क्षेत्र नै राजनीतिक अस्थिरताको चेपुवामा परेको छ ।

माओवादीको सशस्त्र द्वन्द्वमा त पर्यटन क्षेत्र शून्यमै झरेको थियो । त्यसपछि पनि निरन्तर बन्दहड्ताल हुँदा पर्यटकहरू आउन आएनन् । झन् गत वर्षको वैशाख १२ मा गएको भूकम्पपछि त विदेशी पर्यटक आउने क्रम ह्वात्तै घट्यो ।

संविधान जारी भएपछि राजनीतिमा सुधार आउन सकेको छैन । सबै क्षेत्रलाई गाइड गर्ने भनेको त राजनीतिले नै हो । जबसम्म राजनीतिमा सुधार आउँदैन तबसम्म पर्यटन मात्र होइन, अन्य उद्योग–व्यवसाय पनि फस्टाउन सक्दैनन् ।

दलका नेताहरूले अब व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि राजनीति गर्नुपर्छ । हाम्रै छिमेकी मुलुक भारत र चीन विश्वकै धनी मुलुकमा दरिएका छन् । तर, प्रचुर सम्भावना र अवसर हुँदाहुँदै पनि राजनीतिक खिचातानी र सक्षम नेतृत्व अभावका कारण हामी पछाडि परेका छौं ।

राजनीतिक नेतृत्वले भावी पुस्तालाई सम्झेर अनि छिमेकी मुलुकबाट पाठक सिकेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ । संविधान जारी भएसँगै राजनीतिक एजेन्डा पूरा भएको छ भन्ने मलाई लाग्छ ।

अब सबै राजनीतिक दलले आर्थिक मुद्दालाई फोकस गर्नुपर्छ । पर्यटन क्षेत्र सुरक्षासित गाँसिएको छ । जुनसुकै पर्यटकले आफू सुरक्षित भएको महसुस नगरेसम्म घुम्न आउँदैन ।

पर्यटनबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्नुभएको छ ? 
राजनीतिक अवस्थामा सुधार आउँछ कि भन्ने आशामा उद्योगी व्यवसायीहरू बसेका छन् । त्यही आशाअनुसार नै व्यवसायीहरूले आ–आफ्नो क्षेत्रमा केही मात्रामा भए पनि लगानी गरिरहेका छन् ।

पर्यटनबाहेक कृषि, शिक्षा र उत्पादनमूलक उद्योगमा पनि लगानी छ । ५ करोडको लगानीमा माता पाथिभरा कृषि फर्म सञ्चालनमा आएको छ । जुन फर्ममा १ सयभन्दा बढी गाई छन् । १३ हजारभन्दा बढी रूख रोपिएको छ, जसबाट १० वर्षमा १ अर्बको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

३ करोडको लगानीमा शान्ति जल उद्योग सञ्चालनमा आएको छ । धनकुटाको भेडेटारमा भेडेटार एसियाटिक होटल सञ्चालनको तयारी भइरहेको छ, जुन होटलमा सुविधासम्पन्न ५० कोठा हुनेछ र १८ करोड लगानी हुनेछ ।

पर्यटनमा सम्भावनै सम्भावना
नेपालको आर्थिक विकास पर्यटन र जलविद्युत्बाट मात्रै सम्भव छ । रोजगारीका लागि दैनिक २ हजारको हाराहारीमा युवाहरू विदेश पलायन भइरहेका छन् । पर्यटन र जलविद्युत्मा लगानी बढाउने हो भने स्वदेशमै रोजगारी प्रशस्त सिर्जना हुन्छ ।

एउटा पर्यटक आउँदा ७ जनाभन्दा बढीले रोजगारी पाउँछन् । ट्याक्सीले काम पाउँछ । चियापसलदेखि होटलसम्म चल्छ । पूर्वाञ्चल पर्यटन विकासका दृष्टिले अत्यन्तै बढी सम्भावना भएको क्षेत्र हो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि नेपालको सबैभन्दा होचो भूभाग झापामा पर्छ । विराटनगरको बाफिलो गर्मीबाट एक घण्टामै कठ्यांग्रिने जाडो हुने छिनमै घाम लाग्ने र छिनमै कुहिरोले ढाक्ने भेडेटार पुग्न सकिन्छ ।

यस्तो भूभाग संसारको कुनै पनि ठाउँमा छैन । तराईको समथर भागबाट चाँदीझैं टल्कने हिमाल देख्न सकिन्छ । केही दिनको यात्रामै ती हिमाललाई छाम्न पुगिन्छ । पूर्वमा कृषि, धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटनको सम्भावना धेरै नै छ । मात्र त्यसको प्रचार हुन सकेको छैन ।

गुराँसको राजधानी तेह्रथुमको मिल्के जलजले, तीनजुरे, इलामको कन्याम, जेफाले मात्र होइन; धार्मिक पर्यटनका लागि हलेसी, पाथिभरा, बराहाक्षेत्र, बूढासुब्बा, अर्जुनधाराजस्ता चर्चित धार्मिकस्थल पनि यहीं छ, जहाँ हरेक वर्ष हजारौं आन्तरिक र भारतीय धार्मिक पर्यटक पुग्ने गरेका छन् ।

राज्यले भौतिक पूर्वाधारको विकास गर्ने हो भने पर्यटकको ओइरो लाग्ने थियो । जसबाट मुलुकले आर्थिक आर्जन गर्नुका साथै रोजगारीको खोजीमा विदेश पलायन भइरहेका युवाले स्वदेशमै रोजगारी पाउने वातावरण बन्ने थियो ।

प्रचारप्रसार र भौतिक पूर्वाधारको विकासमा जोड 
राज्यले पर्यकीय गन्तव्यको प्रचारप्रसार र भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्छ । पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक निर्माण राज्यले गरिदिए व्यवसायी लगानी गर्न तयार छन् । राजनीतिक अस्थिरता अन्त्य हुन्छ र लगानी गर्ने भन्दै व्यवसायीहरू हातमा पैसा लिएर बसेका छन् ।

यदि राजनीतिक अवस्थामा सुधार आउने हो भने धमाधम लगानी हुने देखिन्छ । खास गरी राजधानी, पोखरा, लुम्बिनी र चितवनकेन्द्रित पर्यटनलाई विकेन्द्रीकृत गरी अन्य क्षेत्रमा पनि पु¥याउनुपर्छ ।

पूर्वको पर्यटनलाई अगाडि बढाउने हो भने कम्तीमा दिनमा एकपटक विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्नुपर्छ । यसका साथै बढीभन्दा बढी भारतीय पर्यटक भिœयाउन भारतका मुख्य सहरमा प्रचारप्रसार गर्नु जरुरी छ ।

Comments