नेपालमा पर्यटक भित्राउन हवाई भाडा प्रतिस्पर्धी बनाऔँ : व्यवसायी मिश्र

0

टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष वसन्तराज मिश्र नेपालका वरिष्ठ पर्यटन व्यवसायी हुन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलको निवर्तमान सचिव तथा कोषाध्यक्ष मिश्र पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्षसमेत हुन् । नेपाल पर्यटन बोर्डको कार्यसमिति सदस्यका रूपमा समेत काम गरिसकेका मिश्र नेपालमा खर्चालु तथा गुणस्तरीय पर्यटक भित्र्याउने कम व्यवसायीमध्ये एक मानिन्छन् । नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्ष मिश्रले अन्तर्राष्ट्रिय पर्यटन बजारमा लामो समय नेपाली प्रतिनिधिका रूपमा रही योगदान गरेका छन् । मिश्र सेवालाई प्रतिस्पर्धी नबनाएसम्म गुणस्तरीय पर्यटक नभित्रने र गुणस्तरीय पर्यटक नआएसम्म पर्यटनले अर्थतन्त्रमा ठोस योगदान गर्न नसक्ने बताउँछन् । उनले पर्यटनले जिडिपीमा गर्ने योगदानलाई बढाउने उपाय यसरी औँल्याए:

तथ्यांकमा विश्वसनीयता र समानता
कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानको सन्दर्भमा नेपालमा सरकारी, निजी तथा अन्तर्राष्ट्रिय निकायबाट फरक–फरक तथ्यांक आउने गरेको छ । अर्थ मन्त्रालय या नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पर्यटनले करिब ३ प्रतिशत हाराहारी मात्र जिडिपीमा योगदान गरिरहेको देखिन्छ । तर, यसलाई कसरी मूल्यांकन गर्ने ? पर्यटन भनेको स्थानीय स्तरदेखि माथिल्लो स्तरसम्म एक साथ प्रभाव पार्न सक्ने क्षेत्र हो । एउटा पर्यटक नेपाल आएपछि उसले खाना, बास, यातायात (सडक–हवाई)लगायत धेरै क्षेत्रमा योगदान दिन्छ । एउटा होटेल सञ्चालनमा आउनुको मतलब कृषकले उत्पादन गरेको तरकारी, माछामासु, फलफूलले बजार पाउनु हो । नेपालजस्तो विकासशील मुलुकमा एउटा पर्यटक आउँदा १३ जनासम्म लाभान्वित हुन्छ । विकसित मुलुकमा एउटा पर्यटकबराबर ८ जना मानिस लाभान्वित हुन्छन् । यसरी हेर्दा हामीले तयार पारेको तथ्यांक नै पर्याप्त छैन । सर्वप्रथम यसलाई विश्वसनीय र समान बनाउनुपर्छ ।

स्याटलाइट अकाउन्टिङ सिस्टमको व्यवस्था
अन्तर्राष्ट्रिय पर्यटन बजारको तथ्यांक अद्यावधिक गर्ने निकाय वल्र्ड टुरिजम एन्ड ट्राभल काउन्सिलको तथ्यांकअनुसार नेपालमा पर्यटनले झन्डै ४ दशमलव ५ देखि ५ प्रतिशतसम्म योगदान गर्छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को तथ्यांकअनुसार पनि ४ दशमलव ५ प्रतिशत योगदान गरिरहेको छ । पर्यटनमा लगानीकर्ताको चासो तथ्यांकमा ठूलो हुन्छ । जति छिटो पर्यटकीय तथ्यांक अद्यावधिक गर्न सक्यो त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई बजारको विश्लेषण तथा अध्ययन गर्न सहयोग पु¥याउँछ । त्यसकारण नेपाल अब स्याटलाइट अकाउन्टङ सिस्टममा जानुपर्छ । यसले आधिकारिक तथ्यांकको ग्यारेन्टी दिन्छ ।

सेवाको गुणस्तर वृद्धि
हामीले तथ्यांकमा कमी–कमजोरी औँल्याउनुको मतलब अहिले पर्यटनले जति योगदान गरिरहेको छ, यो पर्याप्त छ भन्ने बुझाइ गलत हुन्छ । एउटा सत्य के हो भने अहिले राष्ट्र बैंकको तथ्यांक आफैँमा विवादास्पद छ । एकातर्फ पर्यटक आगमन बढिरहेको छ । होटेलले पाहुना पाइरहेका छन् भने अर्कोतर्फ नेपालमा डलर किन भित्रिरहेको छैन ? यसबारेमा गम्भीर मूल्यांकन गर्नुपर्छ । कतै हामीले अस्वस्थ प्रतिस्पर्धा गरी मूल्य घटाइरहेका त छैनाैँ ? हामीले पर्यटन क्षेत्रबाट पर्याप्त लाभ लिने हो भने स्वाभाविक रूपमा सेवाको गुणस्तर वृद्धि गर्नुपर्छ । हाम्रो प्रतिस्पर्धी भारत, श्रीलंका र भुटान हुन् । भुटानले एउटा निश्चित मूल्यभन्दा घटीमा प्रडक्ट नबेच्ने भनेर अडान लिन सक्छ भने हामीले नसक्ने सवाल नै उठ्दैन । संसारमा नेपालमा भन्दा उत्कृष्ट प्रडक्ट अन्य कुनै मुलुकसँग पनि छैन । भन्नुको मतलब अब खर्चालु पर्यटकको आगमन बढाउने र सोही स्तरका प्रडक्टको विकास गरी सेवाको गुणस्तर बढाउने हो भने स्वाभाविक रूपमा डलरको आम्दानी बढ्छ ।

छवि नबिगाराै
विमानस्थल कुनै पनि मुलुक चिहाउने पहिलो ऐना हो । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पर्यटकले नेपाल कस्तो छ भन्ने आँकलन त्यहाँभित्रको व्यवस्थापन, संस्कार र गतिविधिबाटै गरिसकेको हुन्छ । आज त्रिभुवन विमानस्थल अवतरण गर्दा लामो समय जहाज आकाशमा होल्ड हुन्छन् र ग्राउन्डमा रहेका जहाजको उडान ढिला हुन्छ । यसले एउटा यात्रुको मानसिकतामा कस्तो प्रभाव पार्ला ? हामी अनुमान गर्न सक्छौँ । अर्कोतर्फ जब यसप्रकारका नकारात्मक समाचार निरन्तर बाहिर आउन थाल्छन् त्यसपछि मुलुकको छवि धमिलिन थाल्छ । त्यसकारण कम्तीमा गर्न सकिने कामलाई त व्यवस्थित गरौँ । तर, मुलुकको छवि बिगार्ने काम नगरौँ ।

प्रतिस्पर्धी क्षमता बढाऔँ
नेपाली पर्यटन क्षेत्रको सबैभन्दा ठूलो विशेषता नै जटिल परिस्थितिमा पनि जीवित रहनु सक्नु हो । विगतमा नेपालले ठूलो आन्तरिक द्वन्द्वको सामना ग¥यो । त्यस समय धेरै क्षेत्र तहसनहस भए पनि पर्यटन जीवित रह्यो । भूकम्पपछि संसारभर नेपाल असुरक्षित छ भन्ने सन्देश जाँदाजाँदै पनि करिब एक वर्षको अन्तरालमा हामी झन्डै पहिलाकै अवस्थामा पुग्न सफल भयौँ । यो नेपाली पर्यटन क्षेत्रका लागि सकारात्मक पक्ष हो । अहिले जसरी निजी क्षेत्रबाट पर्यटनको योगदान जिडिपीमा किन बढेन भनेर बहस प्रारम्भ भएको छ, यो चासो सरकारी निकायमा हुनुपर्यो । भारतको रक्सौलमा गएर एउटा स्तरीय गाडी किन्दा १६ लाख पर्छ भने नेपाली व्यवसायीले त्यो गाडी काठमाडौं ल्याउँदा १ करोड मूल्य पर्न जान्छ । यस स्थितिमा नेपालले भारतसँग कसरी प्रतिस्पर्धा गर्छ ? किनकि पर्यटनमा देश–देशबीच पहिलो प्रतिस्पर्धा हुन्छ । त्यसपछि मात्र आन्तरिक रूपमा कम्पनीहरूबीच प्रतिपस्र्धा हुने हो । भुटानमा शतप्रतिशत ड्युटी फ्री छ । भन्नुको मतलब पर्यटनबाट जिडिपीमा धेरै योगदान होस् भन्ने चाहना राख्ने हो भने सरकारले पनि यसमा लगानी गर्नेैपर्छ ।

मूल्यमा सम्झौता नगरौँ
काठमाडौं उपत्यकाको धुलो, धुवाँ र प्रदूषणका कारण नेपालको नकारात्मक प्रचार भइरहेको छ । यी गतिविधिको असर केवल पर्यटनमा मात्र पर्दैन, हाम्रो स्वास्थ्यका लागि नै हानिकारक छ । यसलाई धेरै व्याख्या गरिरहनु परेन । तर, यसमा सुधारको उपाय नअपनाएर भत्काएपछि लामो समय जस्ताको तस्तै राख्ने प्रवृत्ति गलत भयो । यसलाई सुधार गरौँ । अर्कोतर्फ पर्यटकले सेवा उपयोग गरेबबापत उसलाई त्यसको मूल्य तिराउन नहिच्किचाऊँ । किनकि पर्यटक नेपाल आएपछि उसले नेपालको बाटो प्रयोग गर्छ । यहाँ पानी पिउँछ, खाना खान्छ र सुत्छ भने हामीले दिएको सेवाअनुसार उसबाट मूल्य असुल्न किन डराउने ? हामीले जति धेरै मूल्यमा सम्झौता गर्छौँ, त्यति नै पर्यटनले समग्र अर्थतन्त्रमा गर्ने योगदान स्वाभाविक रूपमा कम हुन्छ । हामी गरिब छैनौँ, गुणस्तरीय प्रडक्ट बेच्ने मुलुकका रूपमा नेपाललाई स्थापित गर्न सम्भव छ । जब पर्यटक आएपछि पनि मुलुकलाई फाइदा हुँदैन भने हामी कसरी पर्यटकीय मुलुक ?हवाई भाडा प्रतिस्पर्धी बनाऔँ
नेपाल आउने पर्यटकले आफूले गर्ने खर्चको सबैभन्दा ठूलो हिस्सा हवाई भाडाका रूपमा गर्नुपर्ने अवस्था छ । हाम्रो विमानस्थलले ठूलो क्षमताका जहाज उडान–अवतरण गराउन सक्दैन या आएका जहाज लामो समय आकाशमा होल्ड हुनुपर्छ भने पर्यटकको खर्चको ठूलो हिस्सा स्वाभाविक रूपमा हवाई भाडामा जान्छ । जब हवाई भाडा महँगो हुन्छ त्यसवेला होटेल या अन्य प्रडक्टले पनि मूल्य बढाउँदा त नेपाल संसारकै महँगो गन्तव्य बन्न जान्छ । यस अवस्थामा पर्यटक आगमन त बढ्न सक्दैन । पर्यटन आफैँमा एक्लै अगाडि बढ्न सक्ने क्षेत्र होइन । यसमा सरोकारवाला सबैको साथ र सहयोग चाहिन्छ । पर्यटनको सबैभन्दा ठूलो साझेदार नै हवाई उद्योग हो । यी दुई क्षेत्र एक सिक्काका दुई पाटा हुन् । त्यसकारण हवाई भाडा प्रतिस्पर्धी र सस्तो नभएसम्म पर्यटक आगमनमा सुधार हुन सक्दैन ।

युद्धस्तरमा काम गरौँ
हामीले भाषण र छलफलका क्रममा सबैभन्दा बढी प्रयोग गर्ने शब्द हो ‘युद्धस्तर’ । तर, व्यवहारमा हामी ठ्याक्कै उल्टो छौँ । उदाहरणका लागि नारायणघाट–मुग्लिङको सडक होस् या कलंकी–थानकोट सडक । दैनिक हजारौँ सवारी आवत–जावत गर्ने यो सडकमा एउटा सवारी बिग्रियो भने ३–४ घन्टा जाम पर्छ । त्यसले एक साथ ५० हजार मानिसले सास्ती भोग्नुपर्छ । एउटा जहाज आकाशमा होल्ड गर्दा त्यसको आर्थिक तथा मनौवैज्ञानिक असर ज्यादै ठूलो हुन्छ । काठमाडौं उपत्यकाको धुलोधुवाँले समग्र क्षेत्रमा नकारात्मक असर गरिरहेको छ । हामीकहाँ एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा उडान–अवतरण प्रभावित भएपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा चल्छ । तर, बिडम्वना के छ भने यो समस्याका विषयमा यति धेरै बहस हुँदा पनि राज्यका निकायहरू गम्भीर छैनन् । यी आयोजना र कामहरू पहिलो प्राथमिकतामा राखेर युद्धस्तरमा काम हुनुपर्ने थियो ।

सेफ्टी–सेक्युरिटीको ग्यारेन्टी
संसारभरका पर्यटकको पहिलो प्राथमिकता सेफ्टी र सेक्युरिटी हुन्छ । यी दुई विषयमा कसैले पनि सम्झौता गर्न चाहन्न । चाहे त्यो नेपाली वायुसेवा युरोपेली युनियनको सेफ्टी लिस्टको सवाल होस् या मुलुकभित्रको वातावरणले पर्यटक आगमनमा ठूलो प्रभाव पार्छ । राज्यले पर्यटनबाट विदेशी मुद्रा आर्जन गरी समृद्धि चाहेको हो भने अब पर्यटनमा राज्यको लगानी बढ्नुपर्छ । राज्यले यस क्षेत्रलाई माया गर्नुपर्छ । यसको स्याहार–सुसार गर्नुपर्छ ।साभार नयाँपत्रीका

Comments