निकिता भन्छिन्– मिस नेपाल हुनु, नयाँ दुनियाँमा छिरेजस्तो

0

स्टेजबाट उद्घोष भयो, मिस कन्फिडेन्स– निकिता चाण्डक।

सेतो सर्ट, कालो पाइन्ट र कालै इस्टकोट लगाएका एक युवा खुसीले चिच्याए। दुवै हात उठाउँदै उफ्रिन थाले। उनको उफ्राईमा वरिपरिका केही दर्शक त लछारिए पनि। सँगै उभिएका अर्का युवा भने उफ्रिएका थिएनन्, तर खुसीले थपडी मार्दै थिए। एकछिनपछि फेरि उही नाममा अर्को घोषणा भयो, ‘मिस पपुलर– निकिता चाण्डक।’

ती युवा झनै चिच्याए। उफ्रिँदै धपक्क बलेको स्टेजनजिकै गए, जहाँबाट घोषणा भयो, ‘मिस नेपाल २०१७– निकिता चाण्डक।’यति घोषणा हुनु के थियो, उनी त स्टेजमाथि नै उक्लिन खोजे। मिस नेपालको ताज पहिरिरहेकी निकितालाई पनि सुर्ता थियो, कतै उनी स्टेजमै उक्लिहाल्ने त होइन१

यही सुर्तामा उनले आँखा सन्काइन्। खुट्टा उचालिसकेका युवा हच्केर तल झरे। निकिताले नै हड्बडाउनुपर्ने गरी खुसी जताइरहेका ती युवा थिए, उनका भाइ। र, अर्का थिए दाइ।

मिस नेपाल घोषणा भएको तेस्रो दिन आइतबार आयोजक संस्था हिडन ट्रेजरको अफिसमा भेटिएकी निकिता आफ्नो परिवारको खुसी साट्दा पुलकित थिइन्।

‘टप ७ को घोषणा हुँदै थियो,’ निकिताले परिवारको प्रतिक्रिया सुनाउँदै भनिन्, ‘मेरो नाम अन्तिममा मात्र आयो। ६ नम्बरसम्म पनि नाम नआउँदा मेरो बाबा, दाइ, भाइ र दिदीहरूको मुटुको धड्कन बढेको थियो रे। उहाँहरूले सोच्नुभएछ, निकिता मिस नेपाल नहुने भई। सातौं नम्बरमा मेरो नाम आउँदा उहाँहरू खुसीले चिच्याउनुभएछ।’

यता परिवार ‘निकिता‘ निकिता ‘’ भनेर चिच्याइरहँदा उनको मुहारमा भने खासै ठूलो बदलाव देखिन्थेन। उनी मुसुमुसु हाँसी मात्र रहेकी थिइन्।‘मलाई त यस्तो बेला कस्तो प्रतिक्रिया दिने भन्ने नै आउँदैन,’ उनले भनिन्, ‘धेरै दुःख लाग्दा होस् या अत्यधिक खुसी, मलाई देखाउनै आउँदैन।’

हुन पनि उत्कृष्ट–७ मा परिएला भन्नेधरि नसोचेकी निकिताले मिस नेपाल हुने त चिताएकै थिइन। त्यही भएर उनको मन यति पुलकित भयो, उनले खुसी हुनै बिर्सिन्।‘म त्यस दिन बिहानैदेखि शून्यजस्तै थिएँ। त्यस्तो धेरै उत्साह र छट्पटी थिएन। दुःख र खुसीमा मेरो एउटा सुत्र छ– मनसँग कुरा गर्ने। म मनलाई सम्झाउँछु, ओके, रिल्याक्स१ दुःखको बेला पनि यस्तै भन्छु, ओके, रिल्याक्स

अहिले पनि निकिता आफ्नो मनलाई यस्तरी नै सम्हाल्दै छिन्। एकाएक फेरिएको दैनिकीसँग अभ्यस्त हुन खोज्दैछिन्। इन्स्टाग्राममा एकैदिन कमाएको २५ हजारभन्दा बढी फलोअरसँग रमाउँदै छिन्। भन्छिन्, ‘नयाँ दुनियाँमा छिरेजस्तो लाग्दैछ। इन्जोय गरिरहेकी छु।’

यो खुसीसँगै मन दुखाउने टिप्पणी पनि उनले सुनेकी छन्। आफूलाई ‘इन्डियन’ को ‘ट्याग’ भिराइएको सुन्दा उनलाई दुःख त छ, तर यसमा प्रतिक्रिया जनाइराख्न आवश्यक ठान्दिनन्।

यस्तो ‘ट्याग’ को कारण आफ्नो अस्पष्ट नेपाली भाषा र थर हो भन्ने उनलाई थाहा छ। निकिताले प्रस्ट नेपाली बोल्न नजाने पनि उनको लवज सामान्य छ। उनी मारवाडी समुदायकी हुन्। उनी आफ्नो थर बिगारेर चन्दक, चान्दक वा चन्द लेखिएकोमा गुनासो गर्छिन्।

मारवाडी समुदायबाट प्रतिनिधित्व गर्ने पहिलो मिस नेपाल निकिता ६ वर्षदेखि भारत बस्दै आएकी थिइन्। हजुरबुवाले सुनाएअनुसार उनको परिवार छ पुस्ताअघि नेपाल आएको हो। त्यतिबेला उनको हजुरबुवाको हजुरबुवा जम्मा आठ वर्षका थिए। भारतको जुन भागबाट उनीहरू आए, त्यो पाकिस्तानमा पर्ने निकिता बताउँछिन्।

‘मेरो हजुरबुवा भन्नुहुन्थ्यो, उहाँको पनि हजुरबुवाकी आमा आफ्ना सन्तान लिएर नेपाल आउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँ जुन ठाउँबाट आउनुभयो त्यो अहिले पाकिस्तानमा पर्छ। अंग्रेजको शासन हुँदा गाउँमा लुटपाट मच्चिएपछि सुरक्षा खोज्दै हजुरआमा नेपाल आउनुभएको रे।’

अन्य मारवाडीजस्तै निकिताको पुर्खाले पनि नेपाल आएपछि व्यवसायमा हात हाल्यो। मधेस हुँदै धरानसम्म पुग्यो। पछि निकिताका बुवा मोरङ झरे। उनी त्यतै जन्मिइन्। आठ कक्षासम्म उनको पढाइ उर्लाबारीमा भयो। नौ कक्षा पढ्न भारतको राजस्थान पुगिन्, जहाँ उनकी ठूलीदिदी पहिल्यै पढिरहेकी थिइन्।

उनी उर्लाबारीको बोर्डिङ स्कुलमा पढ्दा नेपाली कमै बोलिन्थ्यो। घर र छिमेकमा पनि मारवाडी र हिन्दी बोल्दै हुर्किइन्। ‘अलि अलि बोलिने नेपाली भाषा पनि भारत गएपछि त ठ्याम्मै बन्द भयो,’ निकिताले नेपाली भाषामा कमजोर हुनुको कारण खोलिन्।

नाचगानमा रुचि राख्ने निकिताले राजस्थानमा पढ्दा एउटा ‘डान्स शो’ मा भाग लिने मौका पाइन्। त्यसमा डान्स र अभिनय बराबर गर्नुपथ्र्यो। सबैले रुचाएपछि उनलाई आफू एक्टिङ राम्रो गर्न सक्छु भन्ने लाग्यो। उनी अभिनेत्री बन्ने सपना बुन्न थालिन्।

स्कुल सकेपछि उनी कलेज पढ्न बैंग्लोर आइन्। परिवारको चाहना डाक्टरी पढोस् भन्ने थियो। तर, निकिताले घरमा थाहै नदिई कमर्स रोजिन्। ‘कमर्स पढेको पनि कुनै योजना बुनेर होइन, सजिलो होलाजस्तो लागेर,’ उनले भनिन्, ‘आर्ट्स पढ्न मलाई थ्योरी घोक्न गाह्रो लाग्थ्यो।’

पढाइ चल्दै थियो। एकदिन दिदीकी साथीसँग भेट हुँदा अचानक नसोचेको प्रस्ताव आयो, ‘तिमी मोडलिङ गर्छौरु’ दिदीकी ती साथी बैंग्लोरमा चल्तीकी मोडल थिइन्। उनले ल्याएको प्रस्ताव बैंग्लोरको चर्चित र्याम्प शोको थियो। निकितालाई प्रस्ताव चित्त बुझ्यो। मोडलिङबाट अभिनय क्षेत्रमा छिर्न सजिलो हुन्छ भन्ने उनले ठानिन्।

‘मैले टेलिभिजनमा मात्र फेसन शो हेरेको थिएँ,’ उनले आफ्नो पहिलो शोको अनुभव साटिन्, ‘कार्यक्रमको अघिल्लो दिन एउटा हिल जुत्ता किनेर ल्याएँ र रातभरी टिभी हेर्दै क्याटवाकको अभ्यास गरेँ। थुप्रैपटक लडेँ पनि।’

पहिलो शोबाट ‘मास फेस’ गर्न सिकेकी निकितालाई त्यसपछि पत्रिकामा फोटोसुटका अफर आउन थाले। करिब एक वर्षमै उनी व्यावसायिक मोडलमा दरिइन्। त्यही बेला बैंग्लोरको फेसन उद्योगमा यस्तो मन्दी छायो, पक्कापक्की भइसकेका काम धमाधम रद्द हुन थाले। कति ठाउँबाट काम गरेको पारिश्रमिक बन्द भयो। यस्तोबेला उनले एउटा पुस्तक भेटिन्, जसले उनको सोच्ने तरिका नै बदलिदियो। त्यो पुस्तकको नाम थियो, ‘सिक्रेट’।

रान्डा बर्न लिखित उक्त पुस्तक पढेपछि जिन्दगीको भारी हलुंगो हुँदै गएको उनलाई आभाष भयो। ‘आफूलाई विश्वास गर्नुपर्छ भन्ने ज्ञान मैले त्यही किताबबाट पाएँ,’ उनले भनिन्।

यसैबीच उनलाई नेपालको फेसन उद्योगबारे चासो हुन थाल्यो। नेपालमा कस्ता ड्रेस डिजाइन हुन्छन्रु कस्ता मोडलले काम गर्छन्रु यस्तै जिज्ञासा बोकेर उनी फेसबुकबाट केही नेपाली डिजाइनरसँग सम्पर्कमा आइन्। दिदीको सुझाव थियो, ‘नेपालमा यहाँजस्तो गाह्रो प्रतिस्पर्धा हुँदैन। तिमीले सजिलै काम पाउन सक्छौ।’

त्यही समयतिर एक नेपाली ड्रेस डिजाइनरको फेसबुकमा ‘टिजिआइएफ’ नामक फेसन शोका लागि मोडल आह्वान गरिएको लिंक देखिन्। उनले सोधखोज गरिन्। डिजाइनरले भने, ‘यो नेपालको टप फेसन शो हो।’

‘के म भाग लिन सक्छुरु,’ निकिताले सोधिन्।

‘मजाले सक्नुहुन्छ।’

‘म नेपाल आएँ भने छानिने निश्चित छरु’

‘यसबारे भन्न सकिन्न। तर, तपाईं अनुभवी भएकाले सम्भावना बढी छ,’ ती डिजाइनरले भने।

उनले पहिलोपल्ट काठमाडौंमा पाइला टेकिन्।

र, पहिलो नेपाली फेसन शोमा भाग लिइन्।

संयोगवश, कार्यक्रमको समापन–भोजमा मिस नेपाल अश्मी श्रेष्ठ, मिस नेपाल डाइरेक्टर सुवर्ण क्षेत्री लगायत थिए। सुवर्णले निकिताको प्रशंसा गर्दै सोधे, ‘‘तिम्रो वाक राम्रो रै’छ, कहाँदेखि आएकोरु’

‘म नेपालकै हुँ, उर्लाबारीको,’ निकिताले भनिन्।

‘तिमी मिस नेपालमा भाग लेऊ, केही दिनमा आवेदन खुल्दैछ,’ सुवर्णले अश्मीतिर इशारा गर्दै भने, ‘अहिलेको मिस नेपाल ऊ नै हो।’

अश्मीले त उनको प्रशंसा गर्दै फेसबुक स्ट्याटससमेत लेखिन्। निकिता भने मिस नेपालबारे उति जानकार थिइनन्। उनले बैंग्लोरमा रहेकी दिदीसँग सुझाव मागिन्। दिदीले पनि हौसला दिइन्।

उनले आवेदन भरिन्। र, छानिइन्।

जब तालिमका लागि बोलाइयो, उनको मनमा दुबिधाका ज्वार उठे। ‘म मिस नेपालका लागि तयार छैन, फ्याट्ट भइहाले मिस वल्र्डमा जानुपर्छ। त्यहाँ त मेरो नाम हैन, नेपालको नाम जोडिन्छ। त्यत्रो प्लेटफर्ममा मैले आफूलाई कसरी ह्यान्डल गर्नुरु’ उनले सोचिन्।

गाह्रो–साँघुरो पर्दा दिदीसँग सल्लाह लिने निकिता यसपालि पनि उनकै भर परिन्। भनिन्, ‘दिदी म कन्फ्युज भएँ। मलाई त कम्पिटिसन छाडेर बैंग्लोर फर्किउँजस्तो लाग्दैछ।’

‘भोलि तिमीलाई पछुतो लाग्न सक्छ,’ दिदीले उताबाट सम्झाइन्, ‘तिमी मिस नेपाल यत्तिकै हुने होइनौ। त्यसका लागि थुप्रै तालिम दिइन्छ। मिस नेपाल भए पनि, नभए पनि तालिम तिम्रो लागि फाइदाजनक छ। मन नडुलाऊ, तालिममा जाऊ।’

तालिममा अनेक सीप सिकाइए। आत्मविश्वास बढाउने खेल खेलाइए। योग, ध्यान, सूचनामूलकदेखि अनेक उत्प्रेरक कक्षा चलाइए। उनले एउटै मन्त्र सिकिन्, ‘आफूलाई विश्वास गर्नुपर्छ।’

जब मिस नेपाल घोषणा हुने दिन नजिकिँदै जान्थ्यो, उनको मनमा छटपटी चल्थ्यो। त्यस्तो बेला उनको सम्हाल्ने सुत्र हुन्छ, ‘जे हुन्छ मेरै फाइदाका लागि हुन्छ।’

‘म मिस नेपाल नभएको भए पनि खिन्न हुने थिइनँ,’ उनी भन्छिन्, ‘यसमा भाग लिन पाउनु नै मेरो लागि ठूलो उपलब्धी थियो। तपाईंले मिस नेपाल घोषणा हुँदा देख्नुभयो होला, त्यहाँ टाइटल नजित्ने पनि कोही दुःखी थिएनन्। किनकि, मिस नेपालले आफूलाई विश्वास गर्नुपर्छ भन्ने मन्त्र सिकाउँछ र भित्रैदेखि यही महसुस हुने बनाउँछ।’

भारतमा मोडलिङ थालेको तीन वर्षमै मिस नेपाल बनेकी निकितासामु अब जिम्मेवारीको खात छ। उनी बैंग्लोरबाट विदा भइसकेकी पनि छैनन्। सर–सामान उतै छन्। काठमाडौंको फेसन शो सकेर बैंग्लोर फर्किने र अभिनय सिक्ने योजना थाती छ। औपचारिक विदाइ माग्न नपाउँदै छुटेका साथीका सम्झनाहरू छन्। उनले ती साथीलाई भेटघाट निम्ति नेपालै डाकेकी छन्।

अब बैंग्लोरसँगको उनको औपचारिक विदाइ काठमाडौंबाटै हुनेछ, मिस नेपालको रूपमा।

‘म यो परिचयमा मात्र सीमित हुन चाहन्न,’ उनले भनिन्, ‘हाम्रो ट्रेनिङमा माल्भिका सुब्बा दिदीले भन्नुभएको थियो– मिस नेपाल भनेको टोपी होइन, एउटा भुवा मात्र हो। जुन टोपीमा अरू थुप्रै भुवा हुन्छन्।’

‘मलाई अब मिस नेपालबाहेक अरू थुप्रै भुवा बटुलेर एउटा टोपी तयार पार्नुछ,’ निकिता दृढ छिन्।साभार सेतोपाटि

Comments