छोराको जस्तै काम गरेर देखाउने ‘इगो’ले सफलता हात पारेँ।’ : पर्वतारोही शेर्पा

0

खिलक बुढाथोकी

‘महिला हुनुमा गर्व छ। अहिले मेरो गाउँबाट कोही सहर पस्न लाग्यो भने हिँड्ने बेला ङिमीजस्तै देश–विदेशमा नाम चलाएर खाएस्, सफल भएस् भनेर आशीर्वाद दिइन्छ,’ उनी भन्छिन्, ‘महिला भएर जन्मेकै कारण छोराको जस्तै काम गरेर देखाउने ‘इगो’ले सफलता हात पारेँ।’

नेपालको पहिलो महिला पर्वतारोहीको परिचय बनाएकी सोलुखुम्बु जुनुबेसीकी ङिमी शेर्पाले हिमाल यात्रा सुरु गर्दा कुनै पनि नेपाली महिलाले साहस जुटाउन सकेका थिएनन् । ०४२ सालमा बिनाअक्सिजन माउन्ट नुप्से (७८६५ मिटर) आरोहणपछि पहिलो पर्वतारोही भनेर चिनिइन् उनी । नुप्से हिमाल चढ्ने साहस उनीपछि अरु महिलाले अहिले पनि गरेका छैनन् । यो हिमाल चढ्न पुरुषलाई पनि कठिनै मानिने पर्वतारोही बताउँछन् ।

‘छोरा जन्मे खसी, छोरी जन्मे फर्सी ।’ अझै गाउँघरमा सुन्न पाइन्छ । झन् ङिमीकी आमाले त छोरीछोरी जन्माएर कम्ता पीडा खेपिनन् । आमाको पीडा देखेरै छोराको जस्तै बन्न लक्ष्य जाग्यो उनीमा । त्यसबेला शेर्पा समुदायमा छोराले गर्ने पेसा हिमाल चढ्ने  र चढाउने थियोे । यही यात्रामा निस्किन् उनी पनि । चुनौती छिचोल्दै उनले हिमाल चढेरै देखाइन् । सारा नेपालीलाई छक्क बनाउँदै महिला पनि सक्षम छन् भनेर प्रमाणित गरिन्, ०४२ मा ङिमीले ।

महिला सक्षम, आत्मनिर्भर बनेर छोराछोरीबीच रहेको भिन्नता हटाउनुपर्छ भन्ने लागेको थियो उनलाई । अस्ट्रेलियाको इको हिमाल संस्थाले नेपालमा त्यसबेला पुरुषलाई पर्वतारोहण तालिम प्रदान गर्दै आएको थियो, कुरा सन् २००१ तिरको हो । महिलालाई पनि पर्वतारोहण तालिम प्रदान गर्ने इको हिमालमा पुगिन् उनी । उक्त संस्थाले महिलालाई पाँच वर्षसम्म तालिमका लागि आर्थिक सहयोग गर्ने भयो । नेपाल पर्वतारोहण संघको व्यवस्थापनमा प्रत्येक वर्ष १९ महिलालाई ‘फिमेल आउटडोर लिडरसिप ट्रेनिङ’ सुरुवात उनकै नेतृत्वमा भयो । पाँच वर्षसम्म ८३ महिलाले तालिम लिए । ‘कतिपय महिला त स्टेजमा गएर बोल्न सक्दैनथे । बर्बर आँसु खसाल्थे । बिस्तारै जिम्मेवारी बढ्दै गएपछि आत्मविश्वास बढाउँदै लगे,’ विगत सम्झिन् उनले । त्यही तालिममा सहभागी माया शेर्पा, मणि मुलेपती, सुस्मिता मास्के, आशा धिमाल लगायतले सगरमाथालगायत दर्जनौं हिमाल चढेर कीर्तिमानी राखेका छन् ।

‘मैले घरघरमा पुगी परिवारलाई सम्झाएर महिलालाई तालिममा सहभागिता गराएँ । मेरो उद्देश्य नै महिलालाई पर्यटनमा ल्याएर आत्मनिर्भर बनाउने थियो,’ उनले भनिन्, ‘अधिकार खोज्ने होइन, क्षमता देखाउने हो । मैले आफूलाई पनि यसरी नै तयार गराएँ ।’ त्यसबेला आफूले तालिम सञ्चालन नगरेको भए अहिले पर्वतारोहण तथा पर्यटनमा महिलाको यतिको बाक्लो सहभागिता नहुने उनी बताउँछिन् ।

०००

०१६ सालमा सोलुखुम्बुको जुनुबेसीमा जन्मिन् ङिमी । आमाले लगातार चार छोरी जन्माएपछि छोरा नजन्माएको भन्दै उनका बुबाले अर्को विवाह गरे । ‘छोरा नजन्मिएर जन्मेका हामी । बुबाको दोस्रो विवाहपछि निकै कठिन रहे हाम्रा दिन,’ उनले भनिन् ।

चतुर स्वभावकी उनले त्यस्तो समय पनि चार कक्षासम्म पढिन् । घरमा उनी नै पहिलो सदस्य हुन्, आफ्नो नाम लेख्न सक्ने । छोरीलाई हेर्ने समाजको नजर र आमाको पीडाले उनलाई छोराले जस्तै काम गर्ने उक्सायो ।

जुनुबेसी सगरमाथा जाने बाटोमा पर्छ । त्यो बेला सगरमाथा उक्लिने पुरुष मात्रै हुन्थे । घरबाट पनि हिमाल देखिन्थे र उनलाई लाग्थ्यो, ‘यी हिमाल एक दिन चढेर देखाउँछु ।’

घरको हेलाहोंचो सहन नसकेर उनी १३ वर्षको उमेरमा भागेर काठमाडौं आइन् । सुरुमा गलैंचा बुन्ने काम गरिन् । यही क्रममा पर्यटनमा आबद्ध लाक्पा नुर्वु शेर्पासँग उनको भेट भयो । त्यसपछि लक्ष्यअनुसारको बाटो समाइन्, हिमाल चढ्ने । ‘सुरुमा पर्यटकको भरिया बनें । पछि उनै लाक्पासँग विवाह गरेँ,’ उनी भन्छिन्, ‘विवाहपछि पनि मेरो यात्रा सहज बनेन । श्रीमान्को सोच उही पुरानै– श्रीमतीले केही गरोस् होइन कि गृहिणी बनोस् ।’

उनको अठोटलाई उनका पतिले रोक्न सकेनन् । उनी सिजनमा टे«किङ गइन्, त्यही आम्दानीले अफसिजनमा अंग्रेजी, फ्रान्स भाषा सिकिन्, हिमाल चढ्ने तालिम लिइन् र हिमालसँग खेल्न तयार बनिन्।

०४२ सालमा सगरमाथाको आडमै रहेको माउन्ट नुप्से हिमालको सफल आरोहण गरेर हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमानी राखिन् । ‘जब म माउन्ट नुप्सेको शिखरमा पुगें । छोरी हुनुमा गौरव लाग्यो । मलाई समयले हिमाल चढायो । बुवाको व्यवहारले नै एक दिन छोराले गर्ने काम गरेर देखाउँछु भन्ने अठोट लिएर हिँडेकी थिएँ । आमाको छाती पनि कम्ता फुलेन रे । छोरो नै रहिछ ङिमी त भनेकी थिइन् रे,’ अनुहारमा खुसी छर्दै उनले सुनाइन् ।

त्यस समय उनीको परिवार मात्रै होइन, सारा नेपालीलाई नै चकित बनाएकी थिइन उनले । पुरुषलाई समेत गर्न कठिन र महिलाले त गर्दै नगरेको काम गरेर उनले विश्वमै आफ्नो नाम पु¥याइन् । उनको चर्चा बढ्दै गयो । नेपालको पहिलो पर्वतारोही महिला भनेर चिनिन् थालिन् । ‘धेरैले चिन्न थाले । कतिपय संस्थाले सम्मान पनि गरे । तत्कालीन पर्यटनमन्त्री श्रीप्रसाद बुढाथोकी मगरलाई भेट्ने मौका मिल्यो । पर्यटन क्षेत्रमै लाग्ने जानकारी मन्त्रीलाई गराएँ र त्यसै बेलादेखि अल्पाइन टे«किङ तथा एक्सपिडिक्सन दर्ता गरेर व्यवसाय चलाउन थालें,’ उनले भनिन् ।

उनले हिमाल चढेको धेरैपछि सन् १९९१ मा पासाङ ल्हामु शेर्पाले हिमाल चढ्ने साहस जुटाइन् ।

पासाङ सनमिगल एक्सपिडिक्सन टिममा स्न १९९३ मा जाने तयारी गरिन् । त्योबेला नेपाल र भारतका महिलालाई सगरमाथा संयुक्त रुपमा चढाउने निर्णय भएको थियो, सरकारबाट । नेपालका तर्फबाट ङिमी, उपासना मल्ल र भारतका तर्फबाट १७ महिला नेपाल–भारत संयुक्त महिला एक्सपिडिक्सनमार्फत सगरमाथा चढ्ने तयारी भयो । ङिमीले र पासाङले सगरमाथाको यात्रा सँगसँगै अगाडि बढाए, आरोहण दल भने फरक । क्याम्पमा भेट भइरहन्थ्यो उनीहरुको । मित्रता पनि निकै थियो । ङिमी र पासाङका बुबा मीत थिए ।

‘पासाङ पहिलो समूहमा थिइन् भने म दोस्रो समूहमा । हाम्रो समूह साउथ समिट (८७७२ मिटर)सम्म पुगेको थियो । हिउँ अत्यधिक परेपछिको लिडरले फर्किन आदेश दिए । हामी क्याम्प तीन (७४०० मिटर)मा फर्कियौं । पासाङको समूह भने समिट गरेरै फर्किने भएछ । पछि अरु फर्किए तर पासाङ र सोनम छिरिङ भने फर्किएनन् । उनीहरु अब कहिल्यै फर्कने छैनन् भन्ने थाहा पाएपछि म निःशब्द भएँ,’ आँखामा आँसु पार्दै २४ वर्षअगाडिको त्यो दिनलाई उनले सम्झिन् । ङिमी अहिले पनि निशब्द भइन्, थप बोल्नै सकिनन् । पासाङ आफू नरहेपनि आज उनको नाम विश्वमा स्वर्ण अक्षरले लेखिएको छ । पासाङको नाम र माया पनि ङिमीसँग पनि अमिट छ ।

०००

ङिमीको हिमाल चढ्ने सपना त पूरा भयो । सगरमाथा चढ्ने सपना भने ७६ मिटरले पूरा हुने सकेन तर उनी आफूलाई सफल ठान्छिन् ।

समिट गर्न नसकेकामा कुनै दुःख लागेको छैन । उनलाई दुःख त महिला पर्वतारोहीलाई सरकारले गरेको बेवास्ताप्रति छ । ज्यान जोखिम राखेर नेपालको प्रतिष्ठा बढाउने पर्वतारोहीलाई सरकारले अहिलेसम्म कुनै सम्मान गर्न सकेको छैन । राष्ट्रका लागि केही गर्नेलाई उचित सम्मान गरेर हौसला दिनुपर्ने ङिमीको बुझाइ छ ।

सगरमाथाबाट फर्किएपछि आरोहणभन्दा पनि पर्यटन व्यवसायमा सक्रिय बनिन् उनी । व्यवसाय गर्दै जाँदा महिलालाई व्यवसायमा जम्न कति कठिन छ भन्ने बुझिन् । महिलालाई हेर्ने दृष्टिकोण भोगिन् । यसको परिवर्तनमा लाग्न आफूले भूमिका खेल्नुपर्ने ठानिन् । नेपाल पर्वतारोहण संघको २७ वर्षे इतिहासमा सदस्यमा उम्मेदवार दिएर उनले बहुमत ल्याइन्, महिलाको सक्षमता र अस्तित्व देखाइन् ।

टान, नेपाल पर्यटन बोर्डमा समेत कार्यकारी सदस्य भएर काम गरेकी ङिमी पर्यटनमा अनुभवी महिला मानिन्छिन् । पति लाक्पा नुर्वु शेर्पा अहिले अन्तर्राष्ट्रिय माउन्टेन गाइड छन्, प्रशिक्षक पनि हुन् । दुवै मिलेर पर्यटन व्यवसाय पनि चलाइरहेका छन् । व्यवसायसँगै पछिल्लो समय सामाजिक कार्यमा पनि आबद्ध छन्, उनी नेपाल शेर्पा महिला संघको अध्यक्ष हुन् भने नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको निवर्तमान अध्यक्ष ।

आफूले पढ्न नपाए पनि उनले एक दर्जन विद्यार्थीलाई पढाइरहेकी छन् । दुई सन्तानकी आमा ङिमीका छोरा आठमा पढ्दै छन् भने छोरी बिबिएस अध्ययनरत् छिन् ।

उनको बुबा बितेको १० वर्ष भइसक्यो । ८९ वर्षीया आमा उनीसँगै बस्छिन् ।

०००

देशमा राष्ट्रपति र सभामुख महिला छन् । यस्तो लाग्छ, महिला अब धेरै माथि पुगिसके । सबै नारी राष्ट्रपति बन्न सक्दैनन् । ङिमीको बुझाइ छ– महिला भएको पछुतो होइन, गर्व मान्नुपर्छ, महिला आत्मनिर्भर नबने देश आत्मनिर्भर बन्न सक्दैन ।साभार नागरीक

Comments