चरिकोटको तीर्थ यात्रा

0

 डा. तारानाथ शर्मा नयाँ ठाउँको भ्रमणमा जाऊँ भन्नेबित्तिकै म आनन्दले उत्ताउलिन थालिहाल्छु । जब मेरा प्यारा भाइ अंग्रेजीका प्राध्यापक राजेन्द्र कोइरालाले प्रवेशिका परीक्षा सकेर सुन्दर भविष्यको आकांक्षा गर्दै परीक्षाफल पर्खेर बसेका चरिकोटका छात्रछात्रालाई सम्बोधन गर्न त्यहाँ जाउँ भनेर मलाई अनुरोध गर्नुभयो, म औधि रमाएँ ।

सल्लाहअनुसार एउटा फराकिलो जिपमा द टाइम्स इन्टरनेसनल कलेजका चार प्राध्यापक र म १७ चैत ०६८ शुक्रबारका दिन खाजासाजा खाइवरी ३ बजे चरिकोटतिर लाग्यौँ । राजेन्द्र कोइराला, कमल सापकोटा, बुद्धिबहादुर सुवेदी तथा रामहरि सिलवाल जिपका पछिल्ला आसनमा जम्नुभयो भने म चालकका छेउमा अघिल्तिर बसेर दृश्यावलोकन गर्दै पुराना सम्झनामा डुब्न थालेँ । भक्तपुर काटेर साँगा पुग्ने उकालोसम्मको बाटो भएर नै म साँगास्थित प्रहरी सञ्चालित विद्यालयसम्म त्यहाँ मेरो कान्छो छोरो सलिल पढुञ्जेल बराबर गइरहन्थेँ । साँगाको डाँडामा वर बाटैबाट दखिनेगरी शिवको विशाल भव्य र अग्लो मूर्ति सलिलले प्रवेशिका गरेको धेरैपछि मात्र उभ्याइएकाले त्यसको मैले छेउमै गई अवलोकन गर्न पाएको थिइनँ ।

यसपालि भने आउँदा–जाँदा नै त्यसको टाढैबाट दर्शन गर्न पाएँ, तापनि समयको अभावले छेवैमा पुगेर हेर्ने अवसर भने मलाई प्राप्त भएको थिएन । अनि त्यस आकर्षक मूर्तिलाई काटेर बनेपाको बीचैबाट र धुलिखेलको उत्तरी कुनाबाट दोलालघाटतिर लाग्दा बायाँ हातपट्टिको डाँडामा स्थित विश्रामगृह होटेललाई मैले देखेँ, जहाँ जर्मनीको एउटा संस्थाले निकै वर्षअघि हामी १०÷१२ नेपाली लेखक–लेखिकालाई लगेर तीन रातजति राखी साहित्यिक छलफल गराएको थियो । त्यस बेलाका साहित्यिक तर्कवितर्कमा म रुमलिँदा रुमलिँदै हाम्रो गाडीले पाँचखाल नाघिसकेछ । ए हे, यतै कता डाँडैबाट पलाञ्चोक भगवतीको मन्दिर जाने बाटो थियो नि, कता परेछ ? भनेर चालकलाई मैले सोद्धा उसले भन्यो, ‘पलाञ्चोक जाने बाटो त पाँचखाल काटिसकेपछि उत्तर घुम्ने ठाउँमा पो छुट्टिन्छ त ! त्यो बाटो आउँदै छ ।’

मन्दिर बाहिर बली दिएका कुखुरा र बोकाको रगतले समस्त क्षेत्र रातै रहेछ र हाम्रो नेपाली सांस्कृतिक परम्परामा मन्दिरका प्रांगणभित्र यसरी निरीह पशुपक्षीका घिच्रा छिनालेर छर्छती रगत निकाली देवमूर्तिमा चढाउने प्रणाली मलाई पटक्कै मन पर्दैन, तापनि म एक्लै त्यहाँ चिच्याएर यो पुरानो प्रथा हट्ने थिएन । 

हो रहेछ, दाहिनेतिर पलाञ्चोक जाने बाटो देखियो अनि हाम्रो बाटो दोलालघाटतिर हानियो । दोलालघाटको साँघु तरेपछि फेरि देव्रेतिर जाने बाटोलाई छाडी भोटेकोसी किनारैकिनारको मूल बाटाबाट खाडीचौर नपुगुञ्जेल हामी कोदारी मार्गकै दोहोरीलत्त गाडी हिँड्ने राजमार्गमा उत्तरतर्फ लम्कियौँ ।

 खाडीचौर राजमार्गलाई छाडेर हामी भोटेकोसीको पुल तरी पूर्वपट्टिको डाँडामा बनेको अलकत्रे तर साँघुरो र थोत्रिसकेको घुमाउरो बाटामा ठसठस उकालिन लाग्दा म झसंग भएँ, ओहो यो बाटो त म हिँडेको थिएँ, जब अप्ठेरा र साँघुरा घुम्ती काटेर हामी डाँडाका टुप्पामा पुग्यौँ, अनि पो मैले झल्याँस्स सम्झेँ । हामी त मुढेमा पुगेछौँ र त्यो बाटो म १५/१६ वर्षअघि अमेरिकाली छात्रछात्रासँग जिरीतर्फ जाँदा गएको रहेछु।

हो, म मेरा पुराना छात्र जनार्दन सुवेदीले पढाउने अमेरिकाको ओहायो राज्यस्थित मायामी विश्वविद्यालयका स्नातकपूर्व छात्रछात्राको नेपाल सत्रअन्तर्गत कार्यक्रममा अतिथि प्राध्यापक भएर जिरी गई त्यहाँ एक–डेढ साता बिताएर फर्केको थिएँ । सुवेदी वर्षैपिच्छे २०/२५ आफ्ना स्नातकपूर्व विद्यार्थीलाई नेपाल ल्याई ५–६ महिना नेपालीकै घरमा खाने–बस्ने व्यवस्था गरी नेपाली भाषा, संस्कृति र जीवनपद्धतिसित परिचित गराउँथे । ती विद्यार्थीले नेपाल सत्रपछि नेपाल सम्बन्धित एक न एक विषयमा निबन्ध लेखी बुझाउनुपथ्र्यो । त्यस्तो लेख नलेखे र त्यसमा उत्तीर्ण नभए कक्षा चढ्न तिनले पाउँदैनथे, त्यसै हुनाले ती विद्यार्थीलाई नेपालका भूगोल, इतिहास , धर्म–संस्कृति आदिबारे व्याख्या गरिदिन भनेर नै सुवेदी मलाई बोलाउँथे ।

आफ्नो पुरानो जिरी भम्रणमा डुब्दाडुब्दै गाडीले भिरालो काटेर सम्म परेका डाँडाको बाटो समातिसकेछ । त्यहाँ दर्शनढुंगाको ठूलो खानी भएकाले बाटोभरि सेतै रोडैरोडा छरप्रस्ट फैलिएका रहेछन् । जसमा गाडीका पाङ्ग्रा रगडिँदै र आवाज निकाल्दै अगाडि बढ्दा हाम्रो गति निकै घट्यो । बाटो फराकिलो भए पनि रोडामा घस्टिनुपर्दा अप्ठेरो अनुभव हुँदोरहेछ । त्यहाँ किन अलकत्रा नपोतेको होला भन्ने मेरो जिज्ञासा सुनेपछि रसायन विज्ञानका ज्ञाता कमल सापकोटाले सङ्गमर्मरका रोडामा अलकत्रै अडिँदैन भनी व्याख्या गर्नुभयो । ५–६ किलोमिटर रगडिएपछि बल्ल गाडीले कालोपत्र बाटो भेट्यो अनि त निश्चिन्त हुँदै र सुन्दर पहाडी क्षेत्रको रमाइलो हेर्दै हामी साढे ७ बजेतिर साँझ झमक्क परेपछि चरिकोट भन्ने चिटिक्क परेको बजारमा पुग्यौँ । इलामतिर जस्तै आकर्षक प्राकृतिक बनोट भएको चरिकोटको बीचैमा अमेरिकाका राष्ट्रपतिको निवास सम्झाउने श्वेतगृह ‐ अर्थात् ह्वाइट हाउस) नाउँ गरेको होटेलमा हामी बस्ने व्यवस्था रहेछ ।

आफ्नै स्नानगार तथा छुट्टै शौचालययुक्त २०२ नम्बरको एक्लो कोठा मेरा निम्ति र अरु चारका लागि दुई–दुई जना सुत्ने दुई कोठामा आफ्ना–आफ्ना झोला बिसाई हातगोडा धोएपछि हामी तल भोजनालयमा ओर्लेर टन्न भुजा डम्फ्याई आनन्दसित सुत्यौँ । तर सुत्न जानुअघि मैले होटलका व्यवस्थापकलाई चरिकोटकै छेउमा कतै सुकाठोकर भन्ने डाँडो छ रे, के त्यो तपाईं मलाई देखाइदिन सक्नुहुन्छ भनेर सोद्धा भोलि बिहानै माथि छानाबाट देखाइदिउँला भनेर उनले भनेकाले म ढुक्क थिएँ । त्यसैले भोलिपल्ट अर्थात् १८ चैत शनिबारका दिन दाँत माझी, दाह्री काटी, तातोपानीमा नुहाएपछि म तम्तयार भएर तल ओर्लें र मलाई व्यवस्थापकले होटलका माथिल्लो तलाको छानामा लगी त्यहाँबाट दक्षिण पश्चिमस्थित एउटा लमतन्न सुतिरहेको डाँडालाई देखाए । त्यसको दक्षिणपट्टिको कुनामै घ्याङ सुकाठोकर पर्छ भनेर उनले भन्दा म छक्कै परेँ । घ्याङ भनेको त तामाङहरूको मन्दिर हो र त्यस डाँडामा वशिष्ठगोत्री भँडारीका कुलदेवता मस्टोको स्थान पो छ भन्ने सुन्दै आएकामा हाम्रा तामाङ बन्धुहरूको घ्याङ पनि रहेछ भन्ने थाहा पाउँदा अत्यन्त खुसी लाग्यो ।

जेहोस्, सुकाठोकर मभन्दा आठ पुस्ता अघिको मेरै पुर्खा विष्णुहरिले किनेर पाएको बिर्ता हो र त्यहाँबाट मभन्दा चार पुस्ता पहिलेका मेरा जिजुबुवा रामानन्द इलामतर्फ लागेका थिए । हाम्रो वंशावली खोजेर प्रकाश गर्ने क्रममा दाइ टंकनाथ भँडारीले सुकाठोकरको डाँडामा हाम्रा कुलदेवताहरूको पूजास्थान छ भनेकाले मैले यहाँलाई त्यहाँ चढाइदिन मेरो पार्कर कलम पठाएको थिएँ र उहाँले त्यहाँ चढाइदिनुभएको थियो । आफ्ना पूज्यनीय पूर्खाको पवित्र स्थललाई परैबाट भए पनि दर्शनसम्म गर्न पाउँदा समेत म औधि प्रशन्न भएँ । यसरी खुसी हुँदै म तल ओर्लनु पनि सबै साथी पनि सँगै तल झरे अनि हामीले हलुका प्रभात भोजन दन्कायौँ ।

त्यसपछि मेरै अनुरोधमा दोलखा जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिरको दर्शन गर्न हामी आफ्नै गाडीबाट गयौँ । जिरी जाँदा र फर्कंदा मैले भीमेश्वरको मन्दिरलाई टाढैबाट च्वास्स देखेको मात्र थिएँ । यसपालि भने चरिकोट बजारभित्रको त्यस प्रख्यात र पवित्र मन्दिरलाई त्यही बजारभित्र रात बिताएर पनि दर्शन नगरी म कसरी फर्कन सक्थेँ ? मेरा सहयात्रीहरुमा भने पहिले नै त्यहाँ पुगिसकेकाले हो वा किन हो, त्यस मन्दिरभित्र गएर दर्शन गर्ने त्यति इच्छा वा उत्सुकता मैले देखिनँ, तापनि मेरा लागि उहाँहरू त्यहाँ पुग्न सजिलै राजी हुनुभयो ।

हुन पनि भीमेश्वर मन्दिर र त्यसभित्र स्थापित भीमसेन मूर्तिको ठूलो ऐतिहासिक महŒव छ । भीमसेनको मूर्तिमा पसिना आयो भने नेपालका राजाले अथवा उनको परिवारले ठूलो दुर्दशा भोग्नुपर्छ भन्ने व्यापक जनश्रुति मैले सुनेको थिएँ । तपाईंहरू भन्नुहोला अहिले त राजा पनि छैन र राजपरिवार पनि छैन, अनि किन हामीले वास्ता गर्ने ? तर म भन्छु इतिहास भनेको इतिहासै हो, त्यसबाट अघि बढ्ने प्रेरणा पाइन्छ र जीवनलाई सफल पार्ने शिक्षा पाइन्छ । संस्कृति भनेको अति प्यारो र गर्वको विषय हो, जसले हाम्रो यथार्थ चिनारी दिन्छ । इतिहास र संस्कृतिकै प्रेरणाले हामी नेपाली भएर टाउको ठाडो गरी हिँड्न पाइरहेका छौँ । यसै भ्रमणको १२÷१३ दिनपछि १ वैशाखका दिन त्यस्तै महान् ऐतिहासिकताको र गर्व गर्नयोग्य राष्ट्रिय संस्कृति कताको खबर हाम्रा पत्रपत्रिकाहरूले सहर्ष छापे । त्यसअनुसार हाम्रै सिराहाको सहलेश भन्ने गाउँको एक स–सानो सुन्दर बगैँचामा यस्तो अद्भुत रूख रहेछ, जसमा लामो र आकर्षक मालाजस्तो रमण्ीाय फूल नववर्षमै मात्र फुल्दो रहेछ । १ वैशाखमा नै देखापर्ने र चैत मसान्त वा २ वैशाखमा समेत नदेखिने यो विशिष्ट पुष्प हाम्रा ऋषिमुनिका ज्योतिषजनको अद्वितीय उदाहरण हो, के हाम्रो राष्ट्रिय विक्रम संवत्को सूर्यचन्द्र तथा अरु नक्षत्र गतिको यस्तो वैज्ञानिक गणना हाम्रो सभ्यता संस्कृतिमा बाहेक अरु कुनै संवत्हरूमा पाइन्छ ?

त म भाग्यले भन्नुपर्ला भीमेश्वर मन्दिरको काखमा चैते दसैँको त्यस पवित्र नवमीका दिन बिहान पुगेँछु । पुग्न त पुगेँ तर दर्शनार्थी महिला, पुरुष र बालबालिकाको लामो न लामो लर्को देखेर म अत्यन्त विचलित भएँ । त्यस विशाल लामको पुछारमा उभिएर आफ्नो पालो पर्खने हो भने कम्तीमा पनि दुई वा अढाई घन्टा लाग्ने थियो । तर, त्यसरी पर्खेमा चरिकोटे छात्रछात्रासित भेटेर गर्ने अन्तरसंवादबाट म विमुख हुने थिएँ । मन्दिरबाहिर म दर्शनार्थीको लहरलाई हेर्दै वरपर घुम्दा मोजा लफ्रक्कै भिजेको पनि थाहा पाइनँ । जुत्ता तलै फुकाले पनि मैले मोजा चाहिँ खोलेको थिइनँ । मन्दिर बाहिर बली दिएका कुखुरा र बोकाको रगतले समस्त क्षेत्र रातै रहेछ र हाम्रो नेपाली सांस्कृतिक परम्परामा मन्दिरका प्रांगणभित्र यसरी निरीह पशुपक्षीका घिच्रा छिनालेर छर्छती रगत निकाली देवमूर्तिमा चढाउने प्रणाली मलाई पटक्कै मन पर्दैन, तापनि म एक्लै त्यहाँ चिच्याएर यो पुरानो प्रथा हट्ने थिएन । त्यसैले व्यथित मनले म छट्पटाउँदै लाम लागेका मानिसलाई हेर्दै जाँदा मन्दिरको ढोकैछेउ पुगेकी १५÷१६ वर्षकी किशोरीप्रति आकर्षित भएँ, बाबा तिमी त मेरै छात्राजस्ती देखिन्छयौ नि भनेर मैले तिनलाई भन्न पुगेँ छु । मेरी आफ्नै स्नेहालु बहिनी झुना सानामा जसरी मलाई देख्नेबित्तिकै स्नेह र श्रद्धासाथ मुस्काउँथी, त्यही प्यारो मुस्कान बिर्साउँदै उसले भनी, ‘सर मेरो अघिल्तिर उभिनुस् न ।’

म धेरै धन्यवाद भन्दै त्यहाँ घुस्रेर लाममा पुग्नु पनि भित्र उभिरहेका पुजारीले मलाई प्रेमपूर्वक हात समातेर स्वागत गर्दै मन्दिरको ढोकामा पुर्‍याए । भित्र पस्न ढोकामा सङ्गमर्मरको चिप्लो ढिस्को रहेछ । मलाई त्यसमा बिस्तारै चढ्न सहयोग गर्दै पुजारीले भने पहिले तपाईं बायाँतिर रहेको कुन्तीको प्रतिमालाई र दायाँतिर स्थित द्रौपदीको मूर्तिलाई नमस्कार गर्नुस्, अनि यता बीचको भीमेश्वर दर्शन गर्नुहोला ।

हो, बीचको भीमेश्वरमूर्तिको दाहिनेपट्टि अर्थात् मेरो बायाँपट्टि माता कुन्तीको प्रतिमा रहेछ । विवाहअगावै अति बहादुर कर्णजस्ता दानवीर र विवाहपश्चात् युधिष्ठिर जस्ता सत्यवादी भीमजस्ता अत्यन्त बलवान् र अर्जुनजस्ता कुशल योद्धा जन्माउने माता कुन्ती अवश्य पनि नारीजातिको अनुपम उदाहरण हुन् । मध्यप्रतिमाको बाँयापट्टि अर्थात् मैले हेर्दा दायाँपट्टि स्थित द्रौपदीको प्रतिमालाई त झन् मैले नेपाली संस्कृतिकी विलक्षण प्रतिमूर्ति र यथार्थ प्रतिनिधि नारीका रुपमा पाउँदै आएको छु । हाम्रो हिमाली क्षेत्रमा एउटै परिवारका दाजुभाइले आर्थिक कारणले नै त होला एउटै साझा पत्निसित आलोपालो गरेरै जीवन बिताउन बाध्यताकी प्रतिक द्रौपदी हुन् । इतिहासका यी दुवै नारीप्रति सद्भक्ति प्रकट गर्दै ढोग्न पाउनु ठूलो सौभाग्य मैले ठानेँ । मेरी जीवनसंगिनी शान्ताले मलाई जटायुक्त नरिवल, कपडा एउटा जनै र सुपारीसहित केही पूजाका सामान प्ल्यास्टिकको झोलामा दिइएकी थिइन् । ती पूजाअर्चनाका सामग्री पुजारीले अत्यन्त स्नेहका साथ खोलेर भीमेश्वरको प्रतिमामा चढाई उनले त्यसले खानयोग्य बाँकी भाग र केही फूल–प्रसाद मलाई दिए ।

चरीकाेट बजार 1989

भीमेश्वरको दर्शनपछि जुत्ता छाडेका ठाउँमा फर्की ल्याफ्ल्याफ्ती भिजेका मोजा त्यतै फोहोर थुपारेको एउटा कुनामा फ्याँकेर म जुत्ता लगाई तल बाटामा रुँगिराखेको गाडीमा साथीहरूसँग बसेँ र श्वेत भवनमा टन्न भोजन गरेपछि हतारहतार हामी केही मास्तिर पर्ने सभाभवनमा पुग्यौँ, जहाँ प्रवेशिका परीक्षा दिइसकेका असंख्य छात्रछात्रा हामीलाई उत्सुक–उत्सुक पर्खिरहेका थिए ।

हामी पुग्नु पनि हाम्रा कर्मठ तथा फूर्तिला प्राध्यापक कमल सापकोटाले मलाई मञ्चमा सभापतिका रूपमा बोलाइहाल्नुभयो र भाषणहरूको लामो शृंखलाको आरम्भ भयो, मेरा साथीहरूमा अंगेजीका प्राध्यापक कोइराला र रसायन विज्ञानका प्राध्यापक कमल सापकोटाले औधि प्रभावोत्पादक प्रवचन प्रस्तुत गरेपछि हाम्रो कलेजका सञ्चालक बुद्धिबहादुर सुवेदी तथा रामहरि सिलवालका अनुभव सिद्ध ज्ञानबद्र्धक र रोचक भाषण भए । बीचमा स्थानीय दुई–तीन प्राध्यापकले पनि बोल्नुभयो । प्रवेशिकापछि विद्यार्थी प्रफुल्ल र सन्तुष्ट भएको मैले अनुभव गरेँ ।

सभा टुंगिदा सवा ३ बजिसकेको थियो । हिजो हामी ३ बजे काठमाडौंबाट त्यता प्रस्थान गरेका थियौँ र पनि साढे सातैमा त्यहाँ पुगेका थियौँ भने आज साढे ३ तिर होटलबाट बिदा भएर हामी हिँडेमा पौने ८ तिर सजिलै आ–आफ्ना वासस्थानमा पुगिसक्ने सम्भावना देखेर त्यस रात हामी नबसी घरै फक्र्यौं । बाटामा भोक लागेकाले दोलालघाटमा तारेका कुरुमकुरुम गर्ने साह्रै मीठा माछा हामीले देख्यौँ । बिचरा कोइराला साकाहारी हुनाले उहाँले अरु नै खाजा खानु प¥यो तर हामी अरु सबैले भने पहाडे खोलामा पाइने स–साना तर अति स्वादिष्ट माछा खायौँ र आफ्ना झोला भरिभरि ती भुटेका स–साना माछा बोकेर आफ्ना घर–परिवारका सदस्यलाई पनि मख्ख पार्न पुग्यौँ ।साभार नागरीक

Comments