घेराबन्दी, अन्तरघात र विजय

0

देशव्यापी रूपमा एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपथ्र्यो, सरकारको अकर्मण्यताका कारण त्यो सम्भव भएन । चरण–चरणमा निर्वाचन गराइयो । यसका कारण कतै अघि, कतै पछि जनप्रतिनिधि चुनिने अवस्था बन्यो । तथापि पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणमा निर्वाचित जनप्रतिनिधिले पनि काम थाल्ने अवस्था सिर्जना भइसकेको छ । दोस्रो चरणको

झलनाथ खनाल

निर्वाचनले पनि एमालेलाई प्रथम स्थानमा उभ्याएको छ । यसले एमालेले अगाडि सारेका एजेन्डा सही छन् भन्ने साबित गरेको छ । एमाले नै यो देशको सबैभन्दा लोकप्रिय पार्टी हो भन्ने पनि निर्वाचनबाट स्थापित भएको छ । तर, जति मात्रामा जित्ने अपेक्षा हामीले राखेका थियौँ, त्यति मात्रामा विजय हासिल भने गर्न सकेनौँ । त्यसको कारणबारे हामीले समीक्षा गर्नैपर्छ । धेरै ठाउँमा हामीले झिनो अन्तरले पराजय भोग्नुपर्‍यो । कतिपय ठाउँमा उम्मेदवार चयन गर्ने विषयमा कमी–कमजोरी देखिएका छन् । यी सबैको समीक्षा गरी एमालेले प्राप्त गरेको स्थानलाई सुदृढ गर्ने र समुन्नत बनाउने काममा हामी लाग्नुपर्छ ।

अग्रगतितर्फको यात्रा
पहिलेपहिले सहरजति सबै कांग्रेसका अनि गाउँ मात्रै एमालेको भन्ने गरिन्थ्यो । परिस्थिति र तथ्यांक पनि त्यस्तै देखिन्थे । तर, पछिल्ला अवधिमा सहरमा पनि एमालेले आफ्नो आधार मजबुत बनाएको प्रमाणित भएको छ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनलाई हेर्दा गाउँ–सहर दुवैतिर आधार विस्तार भएको छ । तर, त्यसलाई थप सुदृढ गर्ने, पार्टी संगठनलाई अझ बढी एकताबद्ध बनाएर अगाडि बढाउने र निर्वाचनमा उत्पन्न हुने सानामसिना अन्तरविरोधलाई न्यूनीकरण गर्ने काममा अझै हामीले राम्ररी मिहिनेत गर्नुपर्ने देखिन्छ ।

पहिला हामीले जितिराखेका र एमालेका गढ भनिएका कतिपय ठाउँ हामीले गुमाएका छौँ । त्यसमा के–कस्ता कमी भए भनेर समीक्षा गर्नुपर्ने र पाठ सिक्नुपर्ने आवश्यकता देखिएको छ । र, कतिपय ठाउँमा कांग्रेसको गढ मानिन्थ्यो, ती गढ अहिले तोडिएका छन् । कांग्रेसको गढ भन्ने गरिएका त्यस्ता कतिपय स्थानमा एमाले लोकप्रिय ढंगले भारी मतान्तरले विजयी भएको छ । हामीले आधार बनाइराखेको ठाउँमा किन कमजोर भयौँ र आधार कमजोर भनिएको ठाउँमा कसरी लोकप्रिय भयौँ भन्ने पनि समीक्षा गर्नुपर्छ । समग्रमा एमाले अग्रगतितर्फ नै गएको देखिन्छ ।

मोर्चाबन्दी गर्न सकेनौँ
नेपाली समाजमा जारी वर्ग संघर्षका विभिन्न शक्तिबीचको प्रतिस्पर्धाको एउटा जिउँदोजाग्दो नमुना हो यो निर्वाचन । यसलाई परिचालन गर्ने र नेपाली समाजलाई ऐतिहासिक रूपले अगाडि बढाउने क्रममा हामी समाजवादको लक्ष्यतर्फ अगाडि बढिरहेका छौँ । जनवादी क्रान्ति वा समाजवादलाई लक्ष्य बनाएर अगाडि बढ्दा संयुक्त मोर्चा एउटा महत्वपूर्ण हतियार हो । कम्युनिस्ट पार्टीले संयुक्त मोर्चालाई जहिले पनि ध्यान दिनुपर्ने हुन्छ । त्यसमा हामीले आवश्यक मात्रामा ध्यान दिन सकेनौँ । सम्पूर्ण लोकतान्त्रिक, देशभक्त, प्रगतिशील शक्तिहरूलाई एकताबद्ध बनाएर निर्वाचनमा सहभागी भएको भए एमालेको नेतृत्वमा सर्वत्र विजय हासिल गर्न सकिन्थ्यो । अहिलेको भन्दा कम्तीमा दुई गुणा बढी स्थानमा विजय प्राप्त गर्ने सम्भावना थियो । यस्ता कतिपय कमजोरीले अपेक्षा गरेजति उचाइमा हामी पुगेनौँ । तैपनि, पहिलो शक्तिचाहिँ बन्यौँ ।

आफ्ना जनमुखी एजेन्डा कार्यान्वयनमा जसरी पार्टी शक्तिलाई परिचालन गर्नुपर्ने थियो, त्यसमा कतिपय ठाउँमा कमी–कमजोरी भए । जसले गर्दा अन्तरघात पनि भोग्नुपर्‍यो । त्यसलाई न्यूनीकरण गर्न सकिएन ।

धेरै शिक्षा पायौँ
देशभरि नै सबै शक्ति एमाले हराउने अभियानमा लागेका थिए । र, उनीहरूले त्यसका लागि गठबन्धन पनि गरे । वडा, गाउँ, नगर, महानगर सबैतिर गठबन्धन देखिए । तर, त्यस्ता गठबन्धन हुँदा पनि एमालेले धेरैजसो गठबन्धनलाई तोड्दै विजय प्राप्त गर्‍यो । एमालेको अग्रगामी विकासका निम्ति यी धेरै राम्रा पक्ष हुन् । यो निर्वाचनले हामीलाई धेरै कुरा शिक्षा दिएको छ । असंख्य महत्वपूर्ण डाटाहरू प्रस्तुत गरेको छ । ती डाटाको हामीले गहिरिएर अध्ययन गर्नुपर्छ र त्यसले भविष्यको ‘कोर्स चार्ट’ गर्नका निम्ति महत्वपूर्ण मद्दत पुर्‍याउँछ ।

हामीले अगाडि सारेका राष्ट्रियता, जनजीविका, विकास–निर्माणजस्ता एजेन्डा ठीक छन् । एजेन्डा कार्यान्वयनमा जसरी पार्टी शक्तिलाई परिचालन गर्नुपर्ने थियो, त्यसमा कतिपय ठाउँमा कमी–कजोरी भए । जसले गर्दा अन्तरघात पनि भोग्नुपर्‍यो । त्यसलाई न्यूनीकरण गर्न सकिएन । त्यसैले विभिन्न स्थानमा अत्यन्त थोरै मतान्तरले हाम्रा उम्मेदवार विजयी बन्न सकेनन् ।

विभिन्न पार्टीका शीर्ष नेताहरूकै कतिपय क्षेत्रमा तलमाथि भएको देखियो । सम्बन्धित नेताले आफ्नो क्षेत्रमा ध्यान दिन नसक्नुको परिणाम होला भन्ने लाग्छ । म जन्मेको इलामको साखेजुङमा हामीले विजय प्राप्त गर्‍यौँ । मैले भोट हालेको सूर्योदय नगरपालिकामा पनि विजय प्राप्त गर्‍यौँ । मेरो निर्वाचन क्षेत्र (इलाम–१) का अधिकांश क्षेत्र हामीले जितेका छौँ । इलामका चारवटै नगरपालिका हामीले जित्यौँ ।

अहिले मात्र पहिलो होइन
एमाले अहिले मात्र पहिलो पार्टी भएको होइन । ०४६ सालको परिवर्तनपछि दोस्रो निर्वाचनमा पनि हामी नै पहिलो पार्टी भएका थियौँ । राष्ट्रियस्तरमा पनि पहिलो पार्टी बनेका थियौँ । ९ महिने एकल सरकार सञ्चालन गर्दा एमालेले देशप्रति, राष्ट्रको अग्रगतिप्रति के गर्छ भन्ने सन्देश जनतासामु प्रस्तुत गर्‍यौँ । त्यसपछि ०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा हामीले राष्ट्रव्यापी रूपमा विजय हासिल गरेका थियौँ । अहिले स्थानीय निर्वाचन २० वर्षपछि भएको छ । योभन्दा अगाडि नै निर्वाचन भएको भए पनि एमाले पहिलो पार्टी हुन्थ्यो । तर, यति ढिलो निर्वाचन भए पनि एमाले फेरि पहिलो पार्टी बनेको छ । पार्टी एकढिक्का भएर लागेकाले ०५४ सालमा धेरै स्थानीय निकायमा विजय प्राप्त गर्न सकेका थियौँ । यद्यपि अहिले पनि पार्टी एकताबद्ध भएरै लागेको छ । तर, पार्टीभित्रका कतिपय असमझदारी, अन्तरविरोधलाई समाधान गर्ने क्रममा मसिनो गरी लाग्न सकेनौँ ।

जुन ढंगले एमालेलाई जनताले अग्रणी स्थानमा पुर्‍याएका छन्, त्यसका लागि सबैलाई एमालेका तर्फबाट धन्यवाद र बधाई ज्ञापन गर्न चाहन्छु । यो नेपाली जनता र नेपाल राष्ट्रको जित हो । राष्ट्रियता, लोकतन्त्र, अग्रगति, प्रगति र सामाजिक रूपान्तरणको जित पनि हो । नेपाली जनता ऐतिहासिक रूपले नयाँ चरणमा उठ्ने अवस्था सिर्जना भएको छ । हामी समाजवादको लक्ष्यतर्फ ऐतिहासिक रूपमा अगाडि बढ्ने ठाउँमा आइपुगेका छौँ ।

ऐतिहासिक थालनी
राष्ट्रव्यापी रूपमा विजयी भएपछि प्रदेश र केन्द्रका लागि महत्वपूर्ण जग निर्माण भएको छ । त्यति मात्र होइन, अब देशको विकास र निर्माणका निम्ति, मुलुकको सामाजिक आर्थिक रूपान्तरणका निम्ति पनि ऐतिहासिक थालनी गर्ने अवसर सिर्जना भएको छ ।

प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्दा राम्रो हुन्थ्यो । राजनीतिक रूपमा त्यो सम्भव पनि छ । तर, कतिपय प्राविधिक कारणले सम्भव छैन भनेर निर्वाचन आयोगले भनिसकेको छ । राजनीतिक रूपले हेरेर मात्र हुँदैन, संवैधानिक, कानुनी र प्राविधिक रूपले समेत हेर्नुपर्ने हुन्छ ।

बाँकीमा अपेक्षा
निर्धारित समय (२ असोज) मै प्रदेश नं. २ मा पनि निर्वाचित हुन्छ र त्यहाँ पनि एमालेले राम्रो परिणाम ल्याउने निश्चित छ । तर, त्यति ढिलो निर्वाचनको मिति तोकिँदा प्रदेशको निर्वाचन कहिले गर्ने, केन्द्रको निर्वाचन कहिले गर्ने भन्ने प्रश्न खडा भएको छ । बाँकी रहेका ८ महिनाभित्र बाँकी सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्छ । मंसिरको दोस्रो साताभन्दा पछि हिउँ पर्ने भएकाले निर्वाचन गर्न सकिँदैन । असोजमा स्थानीय तहकै निर्वाचन भएपछि मतगणना सकिँदा मध्यअसोज पुग्छ । त्यही वेलामा दसैँ पनि पर्छ । दसैँ, तिहार र छठ सक्दा कत्तिक लागिसक्छ । त्यसपछिको छोटो अवधिमा दुई तहको निर्वाचन कसरी गर्न सकिएला ? त्यसकारण अबको निर्वाचन अत्यन्त कठिन र चुनौतीपूर्ण छ । यसको व्यवस्थापन सरकारले राजनीतिक सहमतिसाथ गर्नुपर्छ । साभार नयाँपत्रीका
(एमाले वरिष्ठ नेता खनाल पूर्वप्रधानमन्त्री हुन्)

Comments